काठमाडौं । फिल्म ‘महापुरूष’ले प्रदर्शनको ५१औँ दिन पूरा गर्ने भएको छ । फिल्मले शनिबार काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको ५१औँ दिन पार गर्दै छ । नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया, युरोपमा प्रदर्शन भइरहेको फिल्म १ डिसेम्बरदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरिसकेको छ ।
दर्शकबाट पाइरहेको प्रतिक्रियाले फिल्मले ५१औँ दिनको यात्रा पार गर्न लागेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए । अमेरिकाको डलासबाट सुरु भएको प्रदर्शन ‘५१औँ’ दिन पार गर्दै छ । कोरोना भाइरसको महामारीपछि ५१ औँ दिन पार गर्ने यो दोस्रो फिल्म हो । यसले घरेलु बक्स अफिसमै १० करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।
फिल्मले परिवारलाई जोड्ने कामसमेत गरिरहेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराइली मुख्य भूमिकामा छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलक पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ ।
भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।