काठमाडौँ । चीनले आफ्नो अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपालीलाई निमन्त्रणा दिएको छ। नेपालका लागि चीनका राजदूत छेन सोङले नेपालीलाई चीनको अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न आमन्त्रण गरेका हुन् ।
चिनियाँ अन्तरिक्ष यात्रीले पहिलो अन्तरिक्ष भ्रमण (स्पेस वाक) गरेको भिडियो राख्दै उनले यस्तो आमन्त्रण गरेका हुन्। चीनको विदेश मन्त्रालयका प्रवक्ताले राखेको भिडियो सेयर गर्दै राजदूत सोङले ट्विटरमा अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा नेपाललाई सहभागी हुन निमन्त्रणा दिएका छन् ।
‘हेड अप चिनियाँ ताइकोनट (अन्तरिक्ष यात्री) अन्तरिक्षमा हिँड्दै। अन्तरिक्ष अन्वेषण र चिनियाँ अन्तरिक्ष स्टेसनमा आफ्ना नेपोलिनट्स् (नेपाली अन्तरिक्ष यात्री) पठाउन र चीनसँगको सहकार्यमा सामेल हुन नेपाललाई स्वागत छ’, राजदूत सोङले गरेको ट्विटरमा उल्लेख छ। नेपालमा अन्तरिक्ष क्षेत्रमा लागेका संस्था तथा व्यक्तिले चीनको यस कदमको स्वागत गरेका छन् भने कतिपयले राजदूतको सन्देश स्पष्ट नभएको र यस विषयलाई थप स्पष्ट पार्न आग्रह गरेका छन्।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा एयरोस्पेसका उपप्राध्यापक डा. सुदीप भट्टराईले चीनको यो सन्देश नेपालका लागि सकारात्मक रहे पनि अलिक कूटनीतिक रहेको बताउँदै यो विषय राजदूतले सतहीरूपमा भनेको जस्तो देखिएको टिप्पणी गरे।
अन्तरिक्ष प्रतिष्ठानका संस्थापक डा.आभाष मास्केले चीनले अन्तरिक्ष अभियान र स्टेसनमा सहकार्य गर्न नेपाललाई दिइएको निमन्त्रणा सकारात्मक रहेको बताए।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले राजदूतमार्फत आएको चीनको आमन्त्रण नेपालीका लागि सुखद भएको बताए। उनले चीनको अन्तरिक्ष अभियान र स्टेसनमा नेपालीले पनि सहकार्य गर्ने भन्ने कुरा सम्भव रहेको तर यस विषयमा नेपाल सरकारले गम्भीर भएर पहल गर्नुपर्ने बताए।
वियोन्ड एपोजीका प्रमुख कार्यकारी अधिकृत सुदीपविक्रम अधिकारीले राजदूतको सन्देश अन्तरिक्ष क्षेत्रमा लाग्नेका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए।