काठमाडौँ । श्रीलङ्कामा हालै आएको विनाशकारी चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या ४६५ पुगेको छ। अधिकारीहरूका अनुसार बाढी र पहिरोमा परी अझै ३६६ जना बेपत्ता छन्।
गत साता देशव्यापी रूपमा भएको भारी वर्षा र त्यसपछिको बाढी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ।
सरकारले बाढी प्रभावित प्रत्येक परिवारलाई घर सरसफाइका लागि २५ हजार र घर पूर्ण रूपमा गुमाउनेहरूलाई २५ लाख रुपैयाँ राहत उपलब्ध गराएको बताइएको छ ।
चक्रवातका कारण देशका १५ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् भने करिब २ लाख मानिस राज्यद्वारा सञ्चालित सुरक्षित आश्रयस्थलमा बसिरहेका छन्।
राजधानी कोलम्बोमा बुधबारदेखि बाढीको सतह घट्दै गए पनि मध्य पहाडी भेगका दुर्गम क्षेत्रहरूमा सडक र सञ्चार सम्पर्क विच्छेद हुँदा उद्धार कार्य कठिन भइरहेको अधिकारीहरूले जनाएका छन्।