इटहरी । इटहरीमा लेखन, समाज र जीवनमा सञ्चारको प्रभावबारे बहस गरिएको छ । साहित्यिक तथा सांस्कृतिक जागरण कार्यक्रमअन्तर्गत यस्तो बहस गरिएको हो ।
लायन्स र लियो क्लब अफ इटहरी मनकामनाको आयोजनामा बुधबार बिहान इटहरीस्थित कस्तुरी कलेजको सभाहलमा गरिएको कार्यक्रममा चर्चित सञ्चारकर्मी टीकाराम यात्री र लेखक शिवप्रकाशले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा वर्तमान नेपाली पत्रकारिताको अवस्थाबारे इङ्गित गर्दै यात्रीले पत्रकारितामा पक्षधरता रहेको बताएका थिए । उनले पत्रकारिता भित्र पनि दलकारिता रहेको बताउँदै मान्छे सिर्जनशील बन्नुपर्ने र त्यसका लागि साधना चाहिने कुरामा जोड दिए । उनले आफ्नो इतिहास र धरातल बिर्सन नहुने धारणासमेत राखे ।
अर्का वक्ता, लेखक शिव प्रकाशले जहाँ बसेपनि असल मान्छे भएर बाँच्नुपर्ने कुरामा जोड दिए ।
उनले आफू स्कुले जीवनदेखि नै साहित्य लेखनमा रुचि भएका कारण यही क्षेत्रमा स्थापित हुन निरन्तर साहित्यकर्म गरिरहेको सुनाए । पूर्वीय शास्त्रमा अध्ययन गरेको र सोही कुरामा केन्द्रीत भइरहेको उनको भनाइ थियो ।
कार्यक्रमलाई प्रविण अधिकारीले सहजीकरण गरेका थिए ।
खासगरी इटहरीमा नयाँ पुस्तालाई पढ्नका निम्ति प्रेरित गर्ने उदेश्यले उक्त ‘जागरण’ कार्यक्रमको आयोजना गरिएको अभियन्ता युवराज काफ्लेले बताए ।