इटहरी । विभिन्न क्षेत्रमा नयाँ र सृजनात्मक कार्य गर्ने उद्धेश्यका साथ इटहरीमा अल्टीट्युड क्लबको स्थापना भएको छ । खेलकुद, स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्ने गरी नेपाल ओल्मपिक कमिटिका सह महासचिव रहेका इटहरी निवासी पिताम्बर तिम्सिनाको अध्यक्षतामा सो क्लबको स्थापना भएको हो ।
क्लबले शनिवार इटहरीको प्रशिद्ध पर्यटकिय क्षेत्र तालतलैयामा एक कार्यक्रमको आयोजना गरि आफ्नो लोगो अनावरण गरेको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष तथा खेलाडी तिम्सिनाकै पहलमा क्लबको स्थापना गरिएको हो । शनिवार तालतलैयामा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र कोशी प्रदेशका खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले संयुक्त रुपमा क्लबको लोगो अनावरण गरेका छन् ।
क्लबको उपाध्यक्षमा फुटबलबाट अन्तराष्ट्रिय पहिचान बनाइसकेका पुर्व खेलाडी तथा फुटबल प्रशिक्षक सुरेन्द्र तामाङ छन् भने क्लबमा विभिन्न पेशा व्यवशाय गर्ने युवाहरु सदस्य रहेका छन् ।
कार्यक्रममा बोल्दै कोशी प्रदेशका खेलकुद विकास समितिका सदस्य सचिव वाग्लेले क्लबसँग सहकार्य गर्न आफू तयार रहेको जनाएका थिए । यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्ण पौडेललेसमेत क्लबसँग सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको जनाउँदै इटहरीको समग्र विकासमा युवाहरुको सहकार्य आवश्यक रहेको बताए ।
उनले नगर खेलकुद विकास बोर्ड बनाएर खेलक्षेत्रको विकासमा नगरपालिका लाग्ने बताए । उनले यसै महिनाभित्रमा बोर्ड गठन भईसक्ने बताए । बोर्डमा खेलकुद क्षेत्रमा सर्मपित भई देशलाई अन्तरािष्ट्रय तहसम्म चिनाउन सफल इटहरी नै घर भएका खेलाडीहरुलाई समेट्ने आफ्नो योजना रहेको सुनाए ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले क्लबमा आवद्ध धेरै युवाहरु इटहरीको सफल व्यवसायी पनि रहेकाले हाल व्यवसायीहरुमा आएको कर, बैंक र पार्किङको समस्या हलका निम्ति पनि सहकार्य गरेर आफु अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष माधव कोइराला, क्लबका पहिलो आजिवन सदस्य पूर्ण राई, उपाध्यक्ष सुरेन्द्र तामाङले पनि आ आफ्नो विचार राखेका थिए । कार्यक्रममा नागरिक समाज इटहरी अध्यक्ष राजु केसी, इटहरी उपमहानगर वडानम्बर १ का वडाअध्यक्ष रतन (कैलाश) कार्की लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पशुपति केसीले संचालन गरेका थिए ।