इटहरी । इटहरीस्थित एभरेष्ट बैंक ठगी प्रकरणमा बैंकका एक जना कर्मचारी जेल चलान भएका छन् । पक्राउ परेका अन्य कर्मचारी भने रिहा भएका छन्।
एभरेष्ट बैंक उदयपुरका अपरेसन मेनेजर विराटनगर– ८ का ३४ वर्षीय निरज प्रधान पुर्पक्षको लागि कारागार चलान भएका हुन्।
उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासले प्रधानलाई पुर्पक्षको लागि थुनामा राख्न सोमबार(आज) आदेश गरेको हो।
एभरेष्ट बैंक इटहरी शाखाबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीले मिलेमतोमा गायब पारेका थिए। यो प्रकरणमा बैंकका ७ जना कर्मचारी र २ जना सहयोगी पक्राउ परेका थिए।
उच्च अदालतमा अभियोग दर्ता भएपछि सोमबारको थुनछेक आदेशले पैसा झिक्ने दुई जना कर्मचारीलाई जनही ७ लाख र पक्राउ परेका ६ जना कर्मचारीलाई साधारण तारेखमा छोड्न उच्च अदालत विराटनगरले आदेश गरेको जनाइएको छ ।
साधारण तारेखमा रिहा हुनेहरूमा बैंकको इटहरी शाखा प्रबन्धक सिन्धुपाल्चोक बाह्रबिसे ८ घर भएका ४२ वर्षीय विश्वराज शाक्य, बैंक इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाल छन्।
यस्तै, धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सूर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजूलाई अदालतले जनही ७–७ लाख रुपैयाँ धरौटी राख्न आदेश गरेको छ।
सुनसरी जिल्ला सरकारी वकिलको कार्यालयले मुख्य योजनाकार प्रधानसहित उच्च अदालतमा शुक्रबार १३ जनाविरूद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो।
पक्राउ परेका ९ र फरार ४ जना गरी १३ जनाविरूद्ध अभियोग दर्ता गरेको थियो।