धनकुटामा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, मोरङका एकसहित तीन जना घाइते

न्युजलय २७ जेठ २०८०, शनिवार ०५:५० मा प्रकाशित

धनकुटा । धनकुटाको हिलेबाट धरानतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी  दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् । 

बीआर १० एच ४९१० नम्बरको टाटा सुमो गाडी धरान–धनकुटा खण्डको धनकुटा नगरपालिका–९ स्थित खुरिलामा शुक्रबार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार धनकुटा नगरपालिका–४ स्कुलडाँडाकी १९ वर्षीया प्रिस्किला तामाङ, मोरङको जहदा गाउँपालिका–३ भातिगडा टोलका अजय महला र जहदा–४ का सुरेश मुखिया घाइते भएका छन् । 

घाइतेमध्ये तामाङको अवस्था जटिल छ । उनको धरानस्थित बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य दुई जनालाई जिल्ला अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि सामान्य घाइते भएका महला र मुखिया भाग्दै गरेको अवस्थामा रुद्रबारीको जंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गम्भीर घाइते भएकी तामाङ इटहरी जानेक्रममा स्कुलडाँडाबाट लिफ्ट मागेर उक्त गाडीमा चढेको उनका बाबु प्रकाश तामाङले बताए । पाँच जना सवारमध्ये चालकसहित दुई जना भारतीय नागरिक फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको गाडीमा एक सय केजीभन्दा बढीको तयारी अवस्थाको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।