दुई बच्चासहित आमा मृत फेला

न्युजलय १२ मङ्सिर २०७८, आइतबार ०१:५९ मा प्रकाशित

काठमाण्डौ । सर्लाहीमा दुई बच्चासहित एक महिला मृत अवस्थामा फेला परेकी छन् । 

बरहथवा नगरपालिका–१ स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५ २६ वर्षकी कविता हजारा अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरासहित आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

महिला घरमै झुन्डिएको अवस्थामा र बालबालिका भुइँमा लडिरहेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ । बिहान सबेरै स्थानीयले झुन्डिएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याएको छ । 

श्रीमान् शिव केही वर्षयता वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका स्थानीयले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।