बेलबारीस्थित एक बङ्गुर फर्ममा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’ को लक्षण
विराटनगर । मोरङको बेलबारीस्थित एक बङ्गुर फर्ममा ‘अफ्रिकन स्वाइन फिभर’को लक्षण देखापरेको छ। सो फर्मका बङ्गुर मर्न थालेपछि नमूना परीक्षणका लागि प्रयोगशाला पठाइएको छ।
बेलबारी–४ मा रहेको ठूली एकीकृत कृषि फर्ममा रहेको बङ्गुरमा सो रोगको लक्षण देखापरेको हो। चारो नखाने, पानी हल्का खाने र ज्वरो आउने लक्षण देखिने फर्मका सञ्चालक धीरेन लिम्बूले बताए।
२५ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको उनले जानकारी दिए।
छेउमै रहेका बाख्रा फर्म र माछा पोखरीमा भने उक्त रोगले असर नदेखाएको जनाइएको छ। उनले २२ कट्ठा जमिनमा तीन वर्षअघिदेखि फर्म सञ्चालन गर्दै आएका छन्।
बेलबारी नगरपालिकाका पशु विकास अधिकृत बाबुराम बस्नेतले भने, ‘अफ्रिकन स्वाइन फिभरको लक्षण देखिएपछि प्रयोगशाला परीक्षणका लागि विराटनगर हुँदै काठमाडौं पठाइएको छ।’