मोरङ । विराटनगरका रोहित चौधरी हत्याकाण्डमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार घटनामा संलग्न तीनजनामध्ये दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरूको पहिचान बुधबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइने बताइएको छ । पक्राउ परेका व्यक्तिको साथबाट हतियारसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका अर्का शंकास्पद व्यक्तिलाई चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएको छ।
जन्मदिन मनाउने क्रममा विराटनगरबाट भेडेटार, मूलघाट हुँदै विराटनगर घर फर्कने क्रममा २८ वर्षीय चौधरीको धरानको सेउती खोला पुल नजिक गोली प्रहार गरी हत्या गरिएको थियो।
युवतीका साथ जन्मदिन मनाएर फर्कने क्रममा साउन ५ गते उक्त घटना भएको हो। घटनापछि चौधरीलाई धरानस्थित बिपी प्रतिष्ठानमा उपचारका लागि पुर्याइएको थियो। चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।