वर्षासँगै चिसो बढेपछि बुटवलका शैक्षिक संस्था दुई दिन बन्द गरिने

न्युजलय १४ पुस २०७८, बुधबार ०७:०७ मा प्रकाशित

काठमाडौं । हिउँदे वर्षासँगै बढेको चिसोका कारण बुटवलका विद्यालय दुई दिन बन्द गरिने भएको छ ।  


पश्चिम न्यून चापीय प्रणालीका कारण चिसो बढेको र चिसोसँगै मंगलबार रातिदेखि नै वर्षासमेत भइरहेको भन्दै उपमहानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यको ख्याल गर्दै शैक्षिक संस्था बन्दको निर्णय गरेको हो ।


उपमहानगरपालिकाद्वारा बुधबार जारी सूचनामा उपमहानगरअन्तर्गत रहेका सामुदायिक तथा संस्थागत सबै विद्यालय बिहीबार र शुक्रबार दुई दिन बन्द गर्न आह्वान गरिएको छ । 


यसैबीच वर्षाका कारण बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला पनि स्थगित भएको छ । वर्षा लगातार भएकाले बुधबार दिनभर कुनै कार्यक्रम नगरी मेला स्थगित गरिएको र अब वर्षा रोकिएपछि मात्रै मेला पूर्ववतरुपमा सञ्चालन हुने व्यापार मेलाका संयोजक गोविन्दप्रसाद गैरेले जानकारी दिए ।


एक दिन मेला रोकिँदा करिब तीन करोड बराबरको आर्थिक नोक्सानी हुने उनले बताए ।