धरान । सुनसरीको चतरामा कुम्भमेलाको तयारी थालिएको छ । २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि तृतीयासम्म एक महिना चतराधाममा महाकुम्भ मेला आयोजना हुने जनाइएको छ । चतराधाममा यसअघि चार पटक कुम्भ मेला सम्पन्न भइसकेका छन् ।
प्रथम जगतगुरु पीठ चतराधामका सचिव उद्भव घिमिरेले अहिलेदेखि नै मेलालाई व्यवस्थित बनाउन तयारीका साथ जुटिरहेको बताएका छन् ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले बताए । कार्कीका अनुसार २०८० साल चैत्रबाट लाग्ने पुर्णकुम्भ मेलाको प्रचारप्रसार गर्ने र प्रचारात्मक कार्यक्रम गरिने तथा माथिल्ला सरकारसँग समन्वय गरिनेछ । छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पूर्व सभासद हरिनाथ बास्तोला, वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, जिल्ला प्रहरी प्रमुख, वडाध्यक्षहरू, राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।