रविन तामाङको स्वरको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक

न्युजलय २४ असार २०८०, आइतबार ०२:१६ मा प्रकाशित

काठमाडौं । रकगायक रविन तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै आइतबार अन्तिम संस्कार गरिएको छ । 

रविनको स्वरमा रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर रविनको निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिंदै यो गीत सार्वजनिक गरिएको हो ।

गीतले जिन्दगीलाई धुवाँमा नउडाउन सन्देश दिएको छ । गीतमा रविनलाई गायक राजेशपायल राईले पनि साथ दिएका छन् ।

सुरेश राईको शब्द तथा संगीत रहेको गीतमा रविन र राजेशपायल राईलाई नै फिचर गरिएको छ । गीतको र्‍यापको शब्द रविनले लेखेका हुन् ।

सोनाम तामाङको छायांकन गरेको भिडियोलाई निरञ्जन पाण्डेले सम्पादन गरेका हुन् ।