ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ घाइते

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ११:०८ मा प्रकाशित

सप्तरी ।  सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।

खडक नगरपालिका– ६ वीरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा स १ त ६२५६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

शुक्रबार(आज) बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु र सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । 

मोटरसाइकललाई ठक्कर दिएको ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको थियो। सो दुर्घटनामा ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका– ३ पांडाकी ६५ वर्षीया काखी यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सिरहाको नरहा गाउँपालिकाकी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीय श्याम यादव, गोलबजार नगरपालिका– ३ चोहर्वाका १० वर्षीय पप्पु यादव, ३२ वर्षीया संगिया यादव, ४३ वर्षीया सुशीला यादव, ४ वर्षीय सिद्धान्त यादव घाइते भएका छन्।

त्यस्तै मोटरसाइकल चालक झापाको हल्दिबारी गाउँपालिका– ५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएको जनाइएको छ । 

घाइतेहरुको उपचार सप्तरीका विभिन्न अस्पतालमा भइरहेको छ। ट्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।