धरानमा सफारी चालकद्वारा युवती अपहरणपछि बलात्कार र लुटपाट

न्युजलय १२ चैत २०८२, बिहिबार ०६:२४ मा प्रकाशित

 धरान ।  धरानमा एक १९ वर्षीया युवतीलाई अपहरण गरी जङ्गलमा लगेर कुटपिट, बलात्कार र लुटपाट गरेको आरोपमा सीटी सफारी चालक पक्राउ परेका छन्।

प्रहरीका अनुसार चैत ६ गते बेलुका धरान–१७ घर भएकि पीडित युवती आफ्नो मावली घर मोरङको सुन्दरहरैचा–७ गोठगाउँ जाने क्रममा धरानको  भोटेपुलमा बसको प्रतीक्षा गरिरहेकी थिइन्। सोही बेला अपरिचित व्यक्तिले उनलाई सीटी सफारीमा चढ्न लगाएर भानुचोक बसपार्क हुँदै पानमारा क्षेत्रतर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आरोपितले उनलाई साकेला पार्क नजिकको एकान्त जङ्गलमा पुर्‍याई कुटपिट गरी अचेत बनाएको, ढुंगाले आँखामा प्रहार गरी गम्भीर घाइते बनाएको र त्यसपछि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। साथै घटनापछि पीडितको मोबाइलसमेत लुटेर फरार भएको बताइएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राई को कमाण्डमा खटिएको टोलीले घटनास्थल वरपर जडित सीसीटीभी फुटेजको सूक्ष्म अध्ययन गरेको थियो। अनुसन्धानका क्रममा ध.उ.म.न.पा. ००१ ह ०१७८ नम्बरको सीटी सफारी संलग्न रहेको खुल्न आएको थियो।

त्यसका आधारमा खोजी कार्य अघि बढाउँदै प्रहरीले सुनसरीको रामधुनी नगरपालिका–३ परियारपुरका २६ वर्षीय रोशन विश्वकर्मालाई चैत १० गते आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।

पीडितले चालकको स्पष्ट सनाखत गर्दै किटानी जाहेरी दर्ता गराएकी छन्। जाहेरीका आधारमा विश्वकर्माविरुद्ध जबरजस्ती करणी, कुटपिट तथा लुटपाटसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।