झापा । झापाको बिर्तामोड नगरपालिकामा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिवार बेलुका बिर्तामोड नगरपालिका –७ खोपवारीस्थित भित्री पक्की सडक खण्डमा दुर्घटना भएको हो।
प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र. १–०१–०१३ प ९१९९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सडक छेउको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक बिर्तामोड नगरपालिका –७ निवासी अन्दाजी ३५ वर्षीय शुभाष मादेनको मृत्यु भएको हो।
मृतकको शव बीएण्डसी अस्पतालको शवगृहमा राखिएको छ। दुर्घटनाको कारण तीव्र गति रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।