२०७८ साल माघ ६ गते बिहिबार

अन्न नखाई बस्ने गुरु : यतिन्द्र नारायण रामानुज जीयर

बाबुराम कार्की १० मङ्सिर २०७८, शुक्रबार ०८:१९ मा प्रकाशित
प्रकाशपुर । खाना नखाई बाँच्न सकिन्छ ? जो कोहिले नपत्याउलान् । नपत्याउनु पनि स्वभाविक हो । तर, सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुरस्थित श्रीपति टोलका एक जना वैष्णव सम्प्रदायका गुरु चार वर्षदेखि अन्न नखाई बसेका छन् । 

यतिन्द्र नारायण रामानुज जीयर स्वामीले दाल, भात, गहुँ, मकै, तेल, नुन, चिनी, घ्यू खान छाडेको चार वर्ष भएको छ । उनका चेला पदमबहादुर कार्कीका अनुसार गुरुले अन्न मात्रै होइन चिनि, गुण, मिश्री, मह , ढिके नुन, आयो नुन, सिधेनुन, कालो नुनसमेत खाँदैनन् । मानव शरीरको लागि अत्यावश्यक मानिने यी खानेकुरा छोड्दा सम्भव छ र भन्नेहरुका लागि उनी अनुसन्धानका विषय हुन् ।

अन्न, नुन नखादा स्वास्थ्यमा समस्या छैन त ? भन्ने प्रश्नमा उनले भने ‘म खान छाडे पछि झन् स्वस्थ छु ।’

उनको खानपान मात्र हैन, बसाई पनि फेरिएको छ । उनी पक्का घर छाडेर खरले छाएको कुटीमा, माटाको टाटी भएको कुटीमा बस्दै आएका छन् ।  

८० वर्षीय यी वृद्ध अहिले पनि चस्मा नलगाई पढ्न र लेख्न सक्छन् ।

 बिहान ३ बजे उठेर स्नान पछि पूजापाठमा उनको बिहानी बित्छ । बाल ब्रम्हचारी यतिन्द्रनारायण श्री वैष्णव सम्प्रदायका गुरु पनि हुन् । उनले २०७४ सालमा भारतको भुतपुरीमा यम्बर जीयर स्वामीजीबाट त्रिडण्डीको अधिकार पाएका हुन् । 

खानकीको रुपमा दैनिक दुई लिटर दुध र चार वटा स्याउ खान्छन् उनी । दिनको मध्यान्हमा दुध र स्याउ खाने गरेको उनका चेला पुरुषोत्तम कार्कीले बताए । 

वैष्णव सम्प्रदायको रामानुज सम्प्रदाय सत्य जुग देखी नै चलेर आएको विश्वास गरिन्छ । विष्णु भगवानको रुपमा त्रिडण्डी धारणा गरेको गुरुहरुलाई लिने गरिन्छ । त्रिडण्डी यतिन्द्रनारायाण भन्छन्, 'हाम्रो त्रिडण्डीको नियम नै कडा छ । जो कोहिले पालना गर्नै सक्दैन ।'

नेपालमा तिन जना मात्र त्रिडण्डी रहेका छन् ।