काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरको प्रमुखमा रेनु दाहाललाई उठाउन आफूले आग्रह गरेको खुलासा गरेका छन्।
सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा आयोजना गरेको सभामा सम्बोधन गर्दै देउवाले आफ्नै आग्रह र समर्थनमा रेनुलाई महानगर प्रमुखको उम्मेदवार बनाएको बताएका हुन्।
उनले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तपाईँकी छोरी उठाउनुस् भनेर मैले आग्रह गरेको हुँ। प्रचण्डकी छोरी भएको आधारमा भन्दा पनि योग्य व्यक्ति भएकोले उठ्न लगाएको हो।’
यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुखमा सिर्जना सिंहलाई उठाउन प्रकाशमान सिंह डराएको भन्दै आफूले टिकट दिनुपर्छ भन्दै अगाडि बढाएको देउवाको भनाइ छ।
सिर्जना प्रकाशमानको श्रीमती भएर भन्दा पनि काम गर्न सक्ने भिजन भएको देखेर टिकट दिएको देउवाको दाबी छ। प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दिएको भनेर बखेडा नझिक्न उनले आग्रह गरेका छन्।