२०७८ साल मङ्सिर १३ गते सोमबार

पैसा तिर्न नसक्दा अस्पतालमा बन्धक भएका मण्डलले गरे आत्महत्याको प्रयास

न्युजलय १० मङ्सिर २०७८, शुक्रबार ०९:३५ मा प्रकाशित
मोरङ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर बन्धक भएका एक बिरामीले आत्महत्याको प्रयास गरेका छन्।

मोरङ धनपालथान गाउँपालिका १ का शिवकुमार मण्डलले शुक्रबार बिहान आत्महत्याको प्रयास गरेका हुन्।

उपचार गर्न तीनदिनदेखि अस्पतालमा रहेका उनी आत्महत्या गर्न अस्पतालको तेस्रो तल्लास्थित शौचालयबाट हामफालेका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार तेस्रो तल्लाबाट हामफालेका मण्डलको टाउकोदेखि शरीरका विभिन्न भागमा चोट लागेको छ। उनी बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।

छारे रोगबाट पीडित ३५ वर्षीय मण्डललाई मंसिर ३ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालको आईसीयूमा राखेर उनको उपचार भएको थियो। उपचारपछि अस्पतालले उनलाई मंसिर ७ गते डिस्चार्ज गरेको थियो।

अस्पतालले मण्डलको उपचारका लागि ३६ हजार रुपैयाँ खर्च भएको जनायो। तर मण्डल परिवारले १७ हजार रुपैयाँ अस्पताललाई बुझाएको थियो। बाँकी १९ हजार रुपैयाँ अस्पतालमा बुझाउन नसक्दा उनी डिस्चार्ज भएर पनि घर जान पाएनन्। मंगलबारदेखि उनी अस्पतालमै रहेका थिए।

अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बिरामीलाई घर लैजान भने पनि परिवारले रकम बुझाएर लैजाने भन्दै राखेको जानकारी दिए। बिरामीमा मानसिक रोगको समस्या देखिएको हुँदा अस्पतालले सकभर घर लैजानका लागि आग्रह गर्दै आएको मेहताले बताए।

अस्वाभाविक व्यवहार देखाउने गरेका कारण मण्डललाई अस्पतालले कर्मचारी र सुरक्षागार्डको निगरानीमा राखेको थियो।