प्रदेशको पुनः नामाकरण माग्दै फेरी आन्दोलनको घोषणा

न्युजलय २५ बैशाख २०८०, सोमबार ०५:०१ मा प्रकाशित

काठमाडौ । कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । केही समयदेखि स्थगित आन्दोलन फेरी हुन लागेको हो ।

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो । जसअनुसार राँके जुलुस प्रदर्शन गर्नेदेखि प्रदेश सांसदहरुलाई बहिष्कार गर्नेसम्मका कार्यक्रम छन् । 

वैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, सङ्घर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जनाइएको छ । जसअनुसार सांसद बसेको होटल बाहिर विरोध प्रदर्शन गर्ने र उनीहरुको कार्यक्रम बहिष्कार गर्नेसम्मका कार्यक्रम छन् ।

आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तीव्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रित विशाल जनप्रदर्शन गरिनेछ ।