फिलिपिन्समा शक्तिशाली राइ तुफानका कारण ४९ जनाको मृत्यु

न्युजलय ४ पुस २०७८, आइतबार १२:५० मा प्रकाशित

काठमाण्डौ  । फिलिपिन्समा शक्तिशाली तुफानका कारण ४९ जनाको मृत्यु भएको छ ।

गत हप्ता आएको शक्तिशाली राइ तुफानबाट प्रभावित मध्य फिलिपिनी प्रान्त बोहोलमा ४९ जनाको मृत्यु भएको हो । 

 यद्यपि, सरकारी तथ्याङ्क अनुसार भने मृत्यु हुनेको संख्या ३१ जना रहेको रोयटर्सले जनाएको छ । बोहोल प्रान्तमा सञ्चार सम्पर्क र विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

गभर्नर यापले विशेष गरी खानेपानीसहित राहत सामग्री सहयोग गर्न अपील गरेका छन् ।

 यस्तै, दक्षिणी टापु डिनागटमा झण्डै ९० देखि ९५ प्रतिशत घरमा क्षति पुगेको र १० जना मानिसको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन् । चार लाखभन्दा बढी मानिसलाई अस्थायी आवासमा राखिएको छ ।

 फिलिपिन्समा हरेक वर्ष करिब २० उष्ण प्रदेशीय आँधी आउने गर्छ, जसका कारण बाढी पहिरो जाने गरेको छ ।