विराटनगर । जोगवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरी फर्कदै गर्दा एक युवकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको हेरम्बु गाउँपालिका–६ घर भएका ३४ वर्षीय दावा लामा होल्मो मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
जोगवनीबाट पैदल नै नेपाल आउँदै गर्दा शंका लागेपछि लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले दावालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
विराटनगर –१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका दावाको साथबाट ५८.१४ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषध खरिद गर्नकै लागि विराटनगर आएर जोगवनी पुगेको पत्ता लागेको छ ।
लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएका दावालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।