विराटनगर । विराटनगर–७ स्थित आरके चिल्ड्रेन अस्पतालमा कार्यरत डाक्टर नितेश तिवारी कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका छन् । मिटर ब्याजी तिवारीको दबाबका कारण कटहरी–३ का बिनित सोनारले आत्महत्या गरेपछि तिवारीलाई पक्राउ गरिएको हो ।
मृतक बिनितका भाई अजितको जाहेरीका आधारमा तिवारीलाई साउन १७ गते पक्राउ गरिएको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान समेत सुरु गरिएको छ ।
डाक्टर तिवारीले मृतककी श्रीमतीलाई सात लाख ऋण दिएका थिए । तर १५ लाख रुपैँया असुल गर्दासमेत अझै १२ लाख बाँकी भएको भन्दै दबाब दिएका थिए । मिटरब्याज पीडितको रुपमा सोनारकी श्रीमती रिताले जिल्ला प्रशासन कार्यालय मोरङमा तिवारी विरुद्ध उजुरी दिएकी थिइन् । त्यहि उजुरीउपर दुई पक्षबीच छलफलका लागि जिल्ला प्रशासनमा आएको बखत सोनारलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
डा. तिवारीले नै उनलाई चेक बाउन्समा मुद्धा हालेका थिए । उनले पक्राउ गराउन खोजेपछि हतारहतार सोनारले विष सेवन गरेका थिए । नोबेल अस्पतालमा उपचारका क्रममा सोनारको मृत्यु भएको थियो ।
तिवारीले सोनार परिवारका सदस्यहरुको खाली चेक लिएर बाउन्स गराई अदालतमा बैकिङ्ग कसुरमा मुद्दा दर्ता गरेको बताइएको छ ।