विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गर्ने भएको छ।
विराटनगरमा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अनियमितता प्रकरणमा सहकारी विभागद्वारा नेपाल प्रहरीको सिआइबीलाई छानबिनका लागि अनुमति दिँदै पत्राचार गरेपछि अनियमितताबारे अनुसन्धान शुरु गरिने भएको हो।
विराटनगरमा रहेको उक्त सहकारीले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ। सहकारीमा सेवाग्राहीले बचत गरेको करिब १ अर्ब ४५ करोड रुपैयाँ हिनामिना भएको हुनसक्ने आशङ्का गरिएको छ।
प्रहरी नियन्त्रणमा रहेकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई सिआइबीले अनुसन्धानको दायरामा ल्याउनेछ भने अध्यक्ष केदारनाथ शर्मा तथा अन्य सञ्चालक तथा व्यवस्थापकहरूलाई पनि अनुसन्धानको दायरामा ल्याउन लागेको छ।
सहकारी विभागले र केन्द्रीय अनुसन्धान ब्यूरोबाट पनि अनुसन्धान गर्न पत्राचार भइसकेको मोरङ प्रहरीले जनाएको छ।
हाल छलफल भइरहेको र चाँडै अनुसन्धान शुरु हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए। सहकारीको सञ्चालक समितिका साथै व्यवस्थापकहरूको सम्पत्ति रोक्का गर्ने, बैंक खाता रोक्का गर्ने र अनुसन्धान अघि बढाइनेछ।