विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–९ मगर टोलस्थित डाँस खोलामा डुबेर बुधबार बिहान एक नाबालकको मृत्यु भएको छ।
खोलामा डुबेर राजु भुजेलका ३ वर्षीय छोरा क्रिसन भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट खेल्दै जाने क्रममा घरनजिक रहेको खोलामा डुबेर नाबालकको मृत्यु भएको खुलेको छ।
डुबिरहेको घाइते अवस्थामा बिहान ८ बजेतिर आफ्नै दिदीले नाबालकलाई फेला पारेकी थिइन्। तत्काल उद्धार गरेर उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर मंगलबारे लगिएकोमा चिकित्सकले लगभग १ घण्टापछि मृत घोषित गरेको प्रहरीले जनाएको छ।
शवको पोस्टमार्टम सोही अस्पताल भएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ।