घरायसी विवादपछि आफ्नै ग्वालीमा आगो लगाउने युवक प्रकाउ

न्युजलय १४ साउन २०८०, आइतबार ०२:५७ मा प्रकाशित

तेह्रथुम । छथर गाउँपालिका–६ सुदापमा आफ्नै ग्वालीमा आगो लगाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

शनिबार राति आफ्नै ग्वालीमा आगो लगाएर फरार भएका २८ वर्षीय भानु बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

घरायसी विवादका कारण बस्नेतले ग्वालीमा आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट ग्वालीमा बाँधेका तीनवटा उन्नत जातका गाई, १० वटा बाख्रा, अन्नपात, लत्ताकपडा, भाडाकुँडा जलेर नष्ट भएको बताइएको छ ।

शनिबार राति आगो लगाएर फरार भएका बस्नेतलाई आइतबार बिहान प्रहरीले स्थानीय चप्परी चोकबाट नियन्त्रणमा लिएको हो । आगलागीबाट ३० लाख मूल्य बराबरको क्षति भएको परिवारका अन्य सदस्यहरूले दाबी गरेका छन् ।

दुई दिनअघि परिवारका सबैलाई ज्यान मार्ने धम्की दिएर घरबाट बाहिरिएका बस्नेतले शनिबार राति सबै सुतिरहेको अवस्थामा गाईबाख्रा बाँध्ने ग्वालीमा आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आगलागीमा परी घरको आधाभन्दा बढी भाग जलेको बताइएको छ ।