सन्दीप लामिछाने बने महिनाकै उत्कृष्ट क्रिकेटर

न्युजलय २६ असोज २०७८, मङ्गलबार ०३:१२ मा प्रकाशित

काठमाडौँ । सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी चुनेको छ । विश्व क्रिकेटको सर्वोच्च संस्थाबाट ‘प्लेयर अफ द मन्थ’ चुनिने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । अप्रिलमा नेपाली ब्याटर कुशल भुर्तेल महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा परे पनि पाकिस्तानका बाबर आजमभन्दा पछाडि परेका थिए ।


सन्दीपले सेप्टेम्बरमा खेलेका ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७.३८ को औसत र प्रतिओभर ३.१७ रनमात्र खर्चेर कुल १८ विकेट लिएका थिए । ओमान भ्रमणमा उनले पपुवा न्युगिनीसँगको दुई खेलको शृंखलामै १० विकेट लिएका थिए । त्यसको दोस्रो खेलमा उनले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिँदै नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यसअघि सन्दीपले नै २०२० को फेब्रुअरीमा अमेरिका विरुद्ध १६ रन खर्चेर ६ विकेट लिएका थिए, जुन यसअघि नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन थियो ।


पपुवा न्युगिनीसँगको पहिलो खेलमा पनि सन्दीपले ४ विकेट लिएका थिए । उनले त्यसपछि आईसीसी विश्वकप लिग २ को ४ खेलमा ८ विकेट लिएका थिए । उनको यो प्रदर्शनमा नेपालले अमेरिका र ओमानविरुद्धको १–१ खेलमा विजय हात पारेको थियो । ओमानसँग उनले १८ रन खर्चेर ४ विकेट लिएका थिए ।


सन्दीप बंगलादेशका देब्रेहाते स्पिनर नसुम अहमद र अमेरिकी ब्याटर अमेरिकाका जसकरण मलहोत्रालाई उछिन्दै महिनाको उत्कृष्ट खेलाडी भएका हुन् । जसकरणले पपुवा न्युगिनीविरुद्ध ओमानमै अन्तिम ओभरमा ६ छक्का प्रहार गर्दै सो खेलमा कुल अविजित १७३ रन बनाएका थिए ।


सन्दीपबाहेक महिलातर्फ इंग्ल्यान्डकी कप्तान हिदर नाइट आफ्नै देशकी चार्ली डिन र दक्षिण अफ्रिकाकी लिजेल लीलाई उछिन्दै महिनाको उत्कृष्ट खेलाडीमा चुनिएकी छन् ।