भोजपुरमा मृग ठानेर बन्दुक पड्काउँदा साथीको मृत्यु

न्युजलय २५ असार २०८०, सोमबार ११:५८ मा प्रकाशित

भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुक पड्काउँदा आफ्नै साथीको मृत्यु भएको छ ।

बन्दुकको गोलीले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

घटना यही असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरुले खोलाको बगरमा पुरेको उनको भनाइ छ । मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा आइतबार राति उनीहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

घटना २२ गते रातिको भन्ने बुझिएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो ।