धरानका मेयद्वारा ज्वाई, जेठान र भाइलाई नियम मिचेर नियुक्ति

न्युजलय १६ बैशाख २०८०, शनिवार ०८:०९ मा प्रकाशित

धरान । आफूलाई भ्रष्टाचारविरोधी सागदी नेता भन्ने धरानका मेयर हर्क साम्पाङले आफन्त र नातेदारलाई भटाभट नियुक्ति दिन थालेका छन् । नियमविपरीत उनले आफन्त र आसेपासेलाई नियुक्ति दिन थालेका हुन् ।

नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली बगैँचे, सरसफाइसम्बन्धी पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनुपर्ने व्यवस्था ऐनमा भएपनि राईले ज्वाई र जेठानसम्मलाई जागिर खुवाउन भ्याइसकेका छन् ।

मेयर साम्पाङले धरानको घण्टाघर काउन्टरमा ज्वाइँ अभिषेक राई र घण्टाघरकै इन्चार्जमा जेठान अनुज भुजेललाई नियुक्त गरेका छन् । यस्तै उनले रोलर चालकमा फुपूको छोरा (भाइ) पर्ने धनराज राईलाई नियुक्त गरेका छन् । 

उनले नियतवस घण्टाघरमा १७ वर्षदेखि कार्यरत नरबहादुर सुब्बालाई करारबाट ज्यालादारीमा झारिदिएका छन् । यस्तै घण्टाघरबाट एक जना कर्मचारीलाई हटाइएको छ । 

धरान नगरको करारमा कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७५ को दफा ४ मा छनौट सम्बन्धी व्यवस्था छ । दफा ४ को उपदफा १ अनुसार कर्मचारी नियुक्त गर्न कार्यालयको सूचनापाटी वा सार्वजनिक निकायमा १५ दिनको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । दफा ५ मा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय प्रारम्भिक छनौट गर्न र अन्तरवार्ताका लागि समति बन्नु पर्ने व्यवस्था छ । उक्त समितिले प्रक्रिया पूरा गरेर कर्मचारी भर्ना गर्नुपर्ने हो । 

हुन त ऐनको व्यवस्थालाई यसअघिका नगरप्रमुखहरूले समेत उल्लङ्घन गरी आफन्त र कार्यकर्ता भर्ति गर्दै आएका थिए । तारा सुब्बा तिलक राईले पनि यसैगरी नियुक्त गरेका थिए । तर आफूलाई भ्रष्टाचारविरोधी भनेर चिनाउन चाहने साम्पाङले पनि त्यही बेथितीलाई निरन्तरता दिएका छन् । खानेपानी बोर्डमा माली २, प्लम्बर ४, चौकीदारलगायत १९ जना नियुक्त गरेको स्रोतको दाबी छ । समिर नामका कार्यालय सहयोगी चौकीदारलाई निकालेर गोपाल राई (कोपिला)लाई सिधै नियुक्ति दिएका छन् । 

धरान–७ को अध्यक्षका उम्मेदवार बनेका अशोक शर्मा र स्मृति लामालाई राजस्व महाशाखाको सूचना सङ्कलकमा नियुक्त गरेका छन् ।