पुर्वी नेपालमै पहिलो पटक अर्केष्ट्रासहितको संगीत उत्सव, खर्च जुटाउन सहयोग संकलन

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०९:०७ मा प्रकाशित

इटहरी । गीतसंगीत र कलाकारहरुको संस्थागत विकासको लागि लामो समयदेखि सक्रिय इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालले ‘साधना सङ्गीत उत्सव २०७८’ गर्ने भएको छ । मंसिर २१ गते देखि तीन दिनसम्म चल्ने कार्यक्रममा अर्केष्ट्राको विशेष प्रस्तुती रहने छ । 

 

इटहरी २ स्थित प्रतिष्ठानको भवनमा हुने कार्यक्रममा प्रस्तुत गर्न लागिएको अर्केस्ट्रासहितको प्रस्तुती पुर्वी नेपालमै पहिलो रहेको प्रतिष्ठानका महासचिव राजु केसीले जानकारी दिएका छन् । अन्नपूर्ण च्याम्बर अर्केष्ट्राका कलाकारहरु काठमाडौबाट आउनेछन् । त्यसबाहेक विभिन्न गायक, कलाकारहरुलेसमेत प्रस्तुती दिनेछन् । 


१६ लाख रुपैया बढी खर्च लाग्ने कार्यक्रमका लागि सहयोगी दाताहरुसँग सहयोग लिने काम भइरहेको छ । इटहरी उपमहानगरपालिका तथा प्रदेश सरकारसँग पहल गरेपनि सहयोग नपाएपछि व्यवशायी, विभिन्न संघसंस्था तथा समाजसेवीहरुसँग सहयोग संकलन गरेर भएपनि कार्यक्रम गर्न लागिएको केसीले जानकारी दिए । 


कार्यक्रमको लागि नेपाली काङ्ग्रेस इटहरीका सभापति हेमकर्ण पौडेलले रु.३५०००, अमेरिका रहेर नेपाली गीत सङ्गीत, भाषा र कलामा समर्पित सङ्गीत प्रशिक्षक पुष्प गजमेरले रु.३००००, हाल अष्ट्रेलिया बसेर व्यवसाय गरिरहेका इटहरीका पुराना बासिन्दा दिनेश कठायतले रु २५०००, सिबि कलेज इटहरीका क्याम्पस प्रमुख, सङ्गीत अनुरागी सागर भट्टराइले रु.२०,०००, इटहरीस्थित स्कील क्याम्पसले रु.१५०००, नेपाली काङ्ग्रेस महाअधिवेसन प्रतिनिधि, युवा नेता सिजन गुरुङले रु.१५०००, बिकासका लागि ससक्तिकरण केन्द्र नेपालका अध्यक्ष सामाजिक अभियन्ता सुभद्रा प्याकुरेलले रु.१००००, क्लोथ हाउस इटहरीका प्रोपराइटर नारायण राठि र नटवर राठिले रु.११०००, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले व्यक्तिगत रु.११००० र उद्योग वाणिज्य संघको तर्फबाट रु.२५००० सहयोग गरेका छन् ।