काठमाडौं । नेपालीमूलकी परिजिता बाँस्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुंगिएको छ ।
नेपाली समयानुसार आज बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए ।
सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चारजना प्रतियोगीलाई जजले ‘इस्ट्यान्ट सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए ।
परिजिताले आकर्षक गीत गाइन् पनि तर, कम भोटको आधारमा उनी बाहिरिनुपर्यो । परिजितालाई नेपाली मूलका कलाकार र समुदायले भोट दिन आग्रह गर्दै अभियान चलाएका थिए ।
कोच जोन लिजेन्डको समूहबाट प्रतिस्पर्धा गरेकी परिजिताको गायकीको प्रशंसा भएको थियो ।
द भ्वाइसको फिनाले नेपाली क्यालेन्डरअनुसार मंसिर २६ र २७ गते हुँदैछ । दुई एपिसोडमा फिनाले प्रसारणको तयारी छ ।