इटहरी । नेकपा एमाले संस्थापन समूहका मुरारी सुवेदी र मञ्जु भण्डारीले महाधिवेशन प्रतिनिधिको दौडबाट पछि हटेका छन् ।
संस्थापन समूहका प्रभावशाली मानिएका भण्डारी र सुवेदीे सुनसरी क्षेत्र नम्बर एक बाट महाधिवेशन प्रतिनिधिको दौडमा थिए । तर, पार्टी भित्र सर्वसम्मत गराउने भएपछि सुवेदी दम्पतीले नै उम्मेदवारी फिर्ता लिएका हुन् ।
सुवेदीले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिनिधिको चुनावबाट पछि हटेको सार्वजनिक गरेका छन् । गत कार्तिक ३० प्रतिनिधि छनोटको लागी सुनसरीमा निर्वाचन तय गरिएको थियो । पछि पुन सर्वसम्मत गराउन निर्वाचनको मिति मङ्सिर ३ गते सारिएको हो ।
३ गते सम्म सर्वसम्मत गराउने पहल सुवेदी नेतृत्वले गरेको थियो । सुवेदीले भने ‘धेरै कोसिस हुँदा समेत सर्वसम्मत हुन नसकेपछि हामी ब्याक भएका हौ, यसले पार्टी एकतालाई थप मजबुत बनाउने छ ।’
उनले लेखेका छन् ‘बृहत्तर पार्टी हितका निमित्त हामीले हिजो बिहानबाट नै उम्मेदवारी फिर्ता गरेका हौँ ।’