झुम्का कारागारबाट फरार आठ कैदी नियन्त्रणमा

न्युजलय ३० माघ २०८२, बिहिबार १२:४९ मा प्रकाशित

इटहरी  । जेन–जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका विभिन्न अपराधमा सजाय भोगिरहेका आठ जना कैदीबन्दीलाई धनकुटा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार फरार कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन जिल्ला–जिल्लाबीच समन्वय, सूचना संकलन तथा निगरानी सञ्जाल सक्रिय बनाइएको थियो।

सोही अभियानको परिणामस्वरूप कर्तव्य ज्यान, अङ्गभङ्ग, जबरजस्ती करणी, चोरी र लागूऔषध गाँजा मुद्दामा सजाय तोकिएका कैदीबन्दीहरू पुनः कारागार चलान गरिएका हुन्।

धनकुटाका प्रहरीका अनुसार फरारमध्ये केही कैदी आफ्नै घर वरपर लुकिछिपी बसेका थिए भने केहीले स्थान परिवर्तन गर्दै पक्राउबाट बच्न प्रयास गरेका थिए।

फरार सबै कैदीबन्दीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार बुझाइएको प्रहरीले जनाएको छ।