विद्यालयको बस चालक बेलबारीका चौधरी मृत फेला

न्युजलय ३२ बैशाख २०८०, सोमबार ०२:३६ मा प्रकाशित

विराटनगर । मोरङको बेलबारी नगरपालिका–९ बाहुनीस्थित जनता माध्यमिक विद्यालयको बसका चालक मृत फेला परेका छन्। 

बेलबारी–९ घर भएका ४९ वर्षीय कालुराम चौधरी सोमबार(आज) बिहान मृत फेला परेका हुन्। मोरङ प्रहरीका अनुसार बेलबारी–७ कदम चोकस्थित नालीमा घोप्टो परेको अवस्थामा चौधरीको शव फेला परेको हो। 

चौधरीको शवनजिकै उनले चलाएको को १० प ९१९७ नम्बरको मोटरसाइकल पनि लडिरहेको अवस्थामा भेटिएको प्रहररीले  जनाएको छ । प्रहरीका अनुसार हावाहुरी चलेको रातको समयमा मोटरसाइकल दुर्घटनामा परेर चौधरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। 

चौधरीको शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर लगिएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक उदय शम्शेर राणा नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। 

विद्यालयका प्रधानाध्यापक टेकप्रसाद साहका अनुसार बसका चालक रहेका चौधरी विद्यालयमा बस राखिसकेपछि साथीलाई पुर्‍याउन भनी मोटरसाइकल लिएर साँझ कदम चोकतर्फ गएका थिए। 

साथीलाई घरमा छाडेर फर्किने क्रममा दुर्घटनामा परेको हुनसक्ने साहको भनाइ छ।