मकवानपुर । मकवानपुरमा अनावरणका लागि तयार गरिएको सालिक नै चोरी भएको छ । आईतबार अनावरणका लागि राखिएको मकवानपुरका लोक कवि गणेशलाल श्रेष्ठको सालिक शनिबार राति नै चोरी भएको हो ।
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी बजार स्थित ज्योति पुस्तकालय परिसरमा स्थापना गरिएको कवि श्रेष्ठको अर्ध कदको शालिक आईताबार अनावरण गर्ने कार्यक्रम रहेको थियो । शालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ सहित गाउँपालिका अध्यक्ष हिदम लामा लगायत साहित्यकारको टोली पुस्तकालय परिसर पुग्दा सालिक राखिएको ठाउँबाट रड नै दोबारेर चोरिएको देखेर निराश भए । उनीहरुले कवि श्रेष्ठको सालिक चोर पत्ता लगाई कारबाहीको माग गर्दै भीमफेदीमा शान्तिपूर्ण जुलुससहित सभा गरेका थिए । यता, प्रहरीले शालिक चोरी गर्नेको खोजि भइरहेको बताएको छ ।
करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालयबाट करिब २ सय मिटर पर पुस्तकालय परिसरमा स्थापना गरिएको थियो । विस १९६८ मा भीमफेदीस्थित पारी बजारमा जन्मेका श्रेष्ठको २०४२ सालमा मृत्यु भएको थियो । लोककवि श्रेष्ठले दुई थुंगाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेखेका थिए ।