इटहरी । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका संरचना भत्काउन फेरी अर्को म्याद दिएको छ । पहिलो पटक ३५ दिने म्याद दिएको उपमहानगरपालिकाले त्यसपछि १५ दिनको म्यादसहितको सुचना जारी गरेको थियो । यो पटक भने अन्तीम सुचना भन्दै सात दिनको म्याद थपेको छ ।
यसबिचमा आफूले बनाएको संरचना आफैले नभत्काए उपमहानगरपालिकाले भत्काउनेछ । त्यसको लागत खर्च भने संरचना बनाउने व्यक्तिले तिर्नुपर्ने उल्लेख गरिएकोछ ।
टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सुचना प्रकाशन गरेको हो ।
खोला, पैनी अझ साँघुरो बनाएर बनाइएका घर, भवनका कारण बाढी तथा डुबान हुने गरेको छ । व्यक्तिका साथै कतिपय संस्थाका भवनहरु खोला पैनी मिचेर बनाइएका छन् भने धेरै ठाउँमा पैनीमाथि स्ल्याब लगाएर हिड्ने बाटो बनाइएको छ ।
खोला पैनी मिचेका संरचना भत्काउने भनेर अघिल्लै पटक मेयर द्वारिकलाल चौधरीले अभियान थालेपनि सफल हुन सकेको थिएन । कोशी राजमार्ग विस्तारका क्रममा घर भत्काउन सफल भएकाले हौसिएका मेयर हेमकर्ण पौडेलले खोलाको अतिक्रमणसमेत हटाएरै छाड्ने बताएका छन् ।