काठमाडौँ । अछाममा महिनावारीको बेला घरनजिकै त्रिपालमुनी सुतेका एक महिला र एक बालिकाको ढुंगा लागेर मृत्यु भएको छ।
पञ्चदेवल विनायक नगरपालिका ८ बरालामा महिनावारी बार्न घरनजिकै त्रिपालमुनि बसिरहेको बेला उक्त घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बिहीबार राति सुतिरहेको बेला माथिबाट खसेको ढुंगा लागेर दुई जनाको मृत्यु भएको छ।
३९ वर्षीया निम जैशी र ८ वर्षीया कविता भण्डारीको ढुंगाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कविताकी आमा ४० वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन्। छोरी कविता पनि आमा रत्नासँगै त्रिपालमुनी सुत्न गएकी थिइन्।
महिनावारी भएकी निम र रत्ना केहीदिन यता घरनजिकै त्रिपाल टाँगेर अस्थायी रुपमा बनाइएको टहरामा रात बिताइरहेका थिए।
अविरल वर्षापछि राति सुतिरहेको बेला माथिबाट खसेको ढुंगा लागेर घटना भएको हो।