इटहरीबाट ब्राउनसुगर सहित ६५ बर्षीया श्रेष्ठ पक्राउ

न्युजलय ७ पुस २०७८, बुधबार ०४:०१ मा प्रकाशित

इटहरी । इटहरीबाट ब्राउनसुगर सहित ६५ बर्षीया वृद्धा पक्राउ परेकी छन् । इटहरी–४ बाट पौष २ गते खैरो हिरोइन सहित उनी पक्राउ परेकी हुन् ।

ब्राउनसुगरको बिक्री हुँदै गरेको सुचना पाएपछि इटहरी प्रहरीले ठेलागाडामा तुलसा श्रेष्ठले सञ्चालन गरेको चिया पसलमा छापा मारेको थियो । 

छापा मार्दा प्रहरीले श्रेष्ठले लगाएको स्वेटरको गोजीबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम ब्राउनसुगर फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

श्रेष्ठलाई नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम ७ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।