बराहक्षेत्रमा बहुआयमिक अस्पताल भवनको सिलन्यास

बाबुराम कार्की २० असार २०८०, बुधबार ०६:३७ मा प्रकाशित

सुनसरी । बराहक्षेत्रनगर र आसपासको क्षेत्रका नागरिकलाई लक्षित गरेर बराहक्षेत्र नगरले १६ बेडसहितको अस्पताल भवनको सिलन्यास गरिएको छ । 

मंगलवार नगरप्रमुख रमेश कार्कीले विधिपूर्वक बहुआयमिक अस्पताल भवनको सिलन्यास गरेका हुन् । कार्यक्रममा बोल्दै कार्कीले भने ‘भवन निर्माणपश्चात बिरामी र सेवाग्राहीले थप विशेषज्ञसहितको सुविधा पउनेछन् ।’

नगर अस्पताललाई थप विकास गर्दै आधुनिक उपकरणह समेत थप्दै लगिने छ । नगरका नागरिकले छिटो र सर्वसुलभ रुपमा उपचार पाउन नगर सधैं लागी परिरहेको नगर प्रमुख कार्कीले वताए ।  

संघिय सरकार खानेपानी मन्त्रालयकोे १ करोड ८० लाख लागत सहयोगबाट भवन निमार्ण गर्न लागिएको हो । बराहक्षेत्र वडा नं. ६ को साकेला पार्क अगाडि रहेको नगरको जग्गामा अस्पताल भवन निमार्ण हुने भएको छ । 

उक्त भवन १५ मिटर चौडा र २० मिटर लम्वाइको हुने निर्माण कम्पनी सगरमाथा विडारी जेभी का तारा नाथ दाहालले जानकारी दिए । 

सिलान्यास कार्यक्रममा वडा नं. ६ का अध्यक्ष उद्धब प्रसाद पोखरेल, जनप्रतिनिधि, नगरका इन्जिनियर राजु भट्टराईलगायत सरोकारवाला र स्थानीयवासीको उपस्थिति रहेको थियो ।