काठमाडौ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ४ अर्ब ९८ करोड रूपैयाँ बजेट सिलिङ पाएको छ।
चालु आर्थिक वर्षको बजेटको तुलनामा यो ४५ प्रतिशत कम हो । चालु आर्थिक वर्ष मन्त्रालयले ९ अर्ब ३८ करोड रूपैयाँ बजेट पाएकोमा यो वर्ष झण्डै आधा घटाउने भएको हो ।
मन्त्रालयले यसपटक स्थानीय तह र प्रदेश तहले नै सम्पन्न गर्न सक्ने आयोजनाहरूलाई बजेट प्रस्तावबाट हटाएको छ । यसपाली पर्यटन प्रवर्द्धनका लागि नयाँ कार्यक्रम ल्याउने जनाइएको छ ।
सरकारले यसअघि सन् २०२३ देखि २०३३ सम्मको अवधिलाई पर्यटन दशकका रूपमा घोषणा गरेको थियो। पर्यटन दशकलाई यसपालीबाट कार्यान्वयनमा ल्याउने मन्त्रालयको तयारी छ।
पर्यटकलाई लक्षित गरेर मोबाइल एप बनाउने, सातै प्रदेशमा एक–एक वटा हिल स्टेशन बनाउन निजी क्षेत्रलाई सहयोग गर्ने र विभिन्न स्थानीय तहलाई नमुना गाउँको रुपमा विकास गर्ने योजना रहेको छ ।