मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते क्याप्टेन सेढाईंको मृत्यु

न्युजलय ८ कार्तिक २०८०, बुधबार ०५:४६ मा प्रकाशित

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार (पीके) सेढाईंको उपचारको क्रममा मृत्यु भएको छ ।


गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनापछि काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराइरहेका पाइलट सेढाईंलाई परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो ।


मनाङ एयर प्रालिले विज्ञप्ति जारी गरी भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत सेढाईंको मृत्यु भएको जानकारी दिएको हो ।


तीन महिनाको अवधिमा दुई पटक मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट निलम्बन गरेको थियो ।