काठमाडौँ । नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३–३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ ।
निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । सरकारलाई बुझाउनुपर्ने ऋण पनि ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा बक्यौता तथा ऋण रकम थपिएको निगमको भनाइ छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो छ ।