मोरङ । मोरङको रंगेली नगरपालिकामा एक बालिकाको शव खाल्टोमा पुरेको अवस्थामा भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार नगरपालिका २ स्थित चन्द्र उरावकी दुई वर्षीया छोरीको शव गाडेको अवस्थामा फेला परेको हो।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले आइतबारबाट बेपत्ता अवस्थामा रहेकी दुई वर्षीया बालिका निशा उरावको शव उनकै घर नजिक खाल्डो बनाएर पुरेको अवस्थामा फेला परेको हो।
प्रवक्ता श्रेष्ठका अनुसार बुवा चन्द्रले छोरी हराएपछि खोजबिन गर्न थालेका थिए। गाँउमा हल्ला भएपछि चौतर्फी खोजी गर्दैगर्दा मंगलबार दिउँसो घरबाट करिब ६० मिटरको दूरीमा रहेको एक पैनीमा खोल्टो खनेर शव गाडिएको अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए।
बेपत्ता भएपछि परिवारका सदस्यले निरन्तर दुई दिन खोजी गरेका थिए। प्रहरीका अनुसार परिवारले सोमबार मध्यरात १ बजेसम्म खोजी गरेका थिए।
घटनास्थलमा यसअघि खाल्डोसमेत नदेखिएको उनीहरुले बताएको प्रहरीले जनाएको छ। बुबा चन्द्रका अनुसार रातिसम्म सो ठाउँमा खाल्डो देखिएको थिएन। मंगलबार बिहान पैनीमा खनेर माटो पुरेजस्तो देखिएपछि शंका लागेर परिवारजनले खनेका थिए।
माटो खन्ने क्रममा बालिकाको कपडासमेत देखिएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। हाल प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको प्रहरी प्रवक्ता श्रेष्ठले जनाए।