हर्क साम्पाङलाई दोस्रो पटक अदालतको आदेश, ‘व्यक्तिको जग्गामा प्रवेश र धरपकड नगर्नू’

न्युजलय ८ भदौ २०८०, शुक्रबार ०३:४५ मा प्रकाशित

काठमाडौं । उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङलाई दोस्रो पटक चेतावनी दिएको छ । व्यक्तिका जग्गामा प्रवेश नगर्न फेरी चेतावनी दिएको हो ।


जबरजस्ती व्यक्तिको जग्गामा वृक्षारोपण गर्न गएपछि अदालतले एक महिनाअघि उनलाई पहिलो पटक आदेश दिएको थियो । मेयरले पुनः सोही ठाउँमा गएर स्थानीयको घर भत्काइदिन्छु भन्न थालेपछि पुनः यो विषय अदालत पुगेको हो ।


प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको नाममा रहेको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको छ । साउन ११ गते उच्च अदालत विराटनगरका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश जारी गर्दै ‘मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रूपमा प्रवेश नगर्न, वृक्षरोपण गर्ने कार्य नगर्न, नगराउन’ भनेको थियो ।


तर, गएको सोमबार मेयर साम्पाङ फेरि जमिनमा पुगेर घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो । उक्त घटनाले आफूमाथि दुर्व्यवहार भएको भन्दै मेयर साम्पाङले प्रशासनमा उजुरी दिएका थिए । दम्पतीलाई पक्रन मेयरले प्रहरीलाई दबाब दिएका थिए । त्यसपछि फेरी अदालत गएका पराजुली दम्पत्तीर्लाइ पक्राउ नगर्नसमेत अदालतले आदेश दिएको छ । 


निषेधाज्ञाको आदेशमा भनिएको छ ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्मका लागि कानुन बमोजिम बाहेक निवेदकलाई थुनामा नराख्नु, धरपकड नगर्नु नगराउनु साथै सो जग्गामा प्रवेश नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’