११ लाखको सुनको गहनासहित इटहरीका दुई व्यक्ति विराटनगरमा पक्राउ

न्युजलय २६ बैशाख २०८०, मङ्गलबार ०८:५४ मा प्रकाशित

विराटनगर । विराटनगरबाट प्रहरीले सुनका गहनासहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर ९ ठाकुरबारी रोडबाट ४५ वर्षीय इन्द्र विक र ४० वर्षीय गोविन्द विक पक्राउ परेका हुन् ।


सुनसरीको इटहरी १० मा बस्दै आएका उनीहरूलाई बागमती प्रदेश ०१–०२८ च २८४६ नम्बरको कारमा सवार रहेको अवस्थामा प्रहरी टोलीले सोमबार राति ९ बजेतिर पक्राउ गरेको हो । 


ठाकुरबारी रोडमा रहेको आरके जेम्स ज्वेलर्समा गहना बेच्न खोज्दै गर्दा शंका लागेपछि उनीहरूमाथि प्रहरीले खानतलासी गरेको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरुको साथबाट ९ तोला ४३ लाल सुनका विभिन्न गहनाहरु बरामद् गरीएको हो । जसको बजार मूल्य ११ लाख बढी रहेको प्रहरीले जनाएको छ । 


सुनसँग सम्बन्धित बिल नभएको र ओसारपसार तथा बिक्रीको प्रक्रिया पूरा नगरेको पाइएपछि विकद्वयलाई पक्राउ गरिएको दाहालले बताए । उनीहरुलाई मंगलबार राजस्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको छ ।