भोजपुरको बालंखामा बुङ्वाखा १७ औं वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सव सुरु

अर्जुन राई अपहेलित २३ मङ्सिर २०७८, बिहिबार ०७:०८ मा प्रकाशित

बालंखा । भोजपुरको आमचोक गाउँपालिका ४ बालंखा स्थित ‘बुङ्वाखा’ को १७ औं वार्षिकोत्सव सुरु भएको छ ।


बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानको  मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीको प्रमुख आतिथ्यतामा झ्याम्टा बजाएर कार्यक्रमको उद्घाटन गरिएको हो ।


मासिक रुपमा प्रकाशित भइ रहेको किरात राई बान्तावा भाषाको पत्रीका बुङ्वाखा र नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजना तथा किरात राई बान्तावा खिम, आमचोकको सह-आयोजनामा सञ्चालन भएको १७ औं वार्षिकोत्सव तथा बान्तावा साहित्य महोत्सव दुई दिन (मंसिर  २३ र २४) सम्म सञ्चालन हुने अयोजकले जनाएको छ ।


कार्यक्रममा उत्कृष्ट १७ बान्त्वावा कविहरुको कविता वाचन वाचन गरिएको थियो । 

उक्त कविता वाचन प्रतियोगिताको विजेता घोषणा तथा पुरस्कार वितरण भोलि हुने आयोजक जनाएको छ ।


कार्यक्रमको उद्घाटन सत्रमा प्राज्ञ लक्ष्मी मालीको बाहुलीबाट ११ औं बान्तावा कविता प्रतियोगिता विजेता विष्णुकुमार राईद्वारा लिखित पुस्तक ‘सेन्मी’को विमोचन गरिएको छ । 


त्यस्तै बुङ्वाखा संयोजक पदम वलाहाङको सहजीकरणमा बान्तावा लेखनमा आमचोके श्रष्टाहरुको योगदान विषयक विमर्श समेत गरिएको थियो । 


नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको उक्त विमर्श कार्यक्रममा कृति प्रकाशित गरिसकेका आमचोके साहित्यकार उत्तम स्माइल राई, रामचन्द्र राजालिम, विष्णुकुमार राई, दिपक बान्तावा, निराजन राई र विजय वाग्लेको सहभागिता रहेको थियो । 


उक्त विमर्श कार्यक्रममा मातृभाषा साहित्य लेखनको चुनौती, वर्तमान अवस्था र आगामी भविष्यको अवस्था बारे विश्लेषण गरिएको थियो ।


त्यसका साथै प्रा.डा.विष्णुसिंह राईको अध्यक्षता तथा पाविहाङ राईको संयोजनमा भे तालेत (वाण/तिर हान्ने) प्रतियोगिता सञ्चालन गरिएको छ । 


कार्यक्रममा आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बुङ्वाखा सम्पादक पदम वालाहाङ राईले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।


किरात राई बान्तावा खिम केन्द्रीय सचीव रिता राराहाङ राईले उक्त कार्यक्रमको सञ्चालन गरेकी हुन् ।


किरात राई बान्तावा खिम, आमचोक अध्यक्ष रमणसिंह राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा विशिष्ट अतिथी तथा आमचोक गाउँपालिका अध्यक्ष अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठान समालोचना तथा निबन्ध विभाग प्रमुख प्रा.डा.गोपिन्द्र पौडेल, पारिजात स्मृति केन्द्र, काठमाडौंका अध्यक्ष स्नेह सायमी, बान्तावा खिम केन्द्रीय अध्यक्ष ज्ञान किराँती, डा.इश्वर कुमार राई, अतिथिहरुमा बुङ्वाखा-बेलायत अक्षयकोष संयोजक मान बहादुर राई, आमचोक-४ वडाध्यक्ष नेत्रबहादुर खत्री, साहित्यकार कविता राई, पुरस्कृत व्यक्तित्व, स्थानीय समाजसेवी तथा बुद्धिजीवी लगाएतको उपस्थिति रहेको थियो ।