महिलामाथि दुर्व्यवहार गर्ने धामी र पूजारी पक्राउ

न्युजलय ७ पुस २०७८, बुधबार ०८:२६ मा प्रकाशित

सुर्खेत । सुर्खेतमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ ।


महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् । लेकबेँसी नगरपालिका–४ दशरथपुरमा कुलपूजा गर्न आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिएका छन् ।


‘पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेका छौँ, पीडित पक्षले अहिलेसम्म उजुरी दिएको छैन’, उनले भने । ती महिला यही पुस ४ गते आफ्नो कुलदेवताको पूजाका लागि माइती आएकी थिइन् । घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।