काठमाडौं । फिल्म ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर आज (शुक्रबार) बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको करिब तीन मिनेट लामो ट्रेलर निकै रोचक देखिएको छ । नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको निर्देशन प्रवेश पौडेलले गरेका हुन् ।
आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ र प्रकृतिलाई प्रेमी–प्रेमिकाहुँदै श्रीमान–श्रीमती बनेकोसम्म देखाइएको छ ।
कमेडी, सेन्टिमेन्ट तथा सस्पेन्सले भरिभराउ लाग्ने ट्रेलरलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेको फिल्ममा दयाहाङ र प्रकृतिका साथमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।
शिव ढकालद्वारा छायांकन गरिएको यो फिल्मका गीतमा प्रवेश मल्लिकको संगीत, डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्म मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको फिल्मको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् ।
रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको फिल्म दर्शकलाई नयाँ बर्षको उपहार स्वरुप प्रदर्शन गर्न लागेको निर्माण पक्षले जनाउदै आएको छ ।