दाङ । तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । दुई जनाको घटनास्थलमा र एक जनाको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
मृत्यु हुनेको सनाखत हुन नसकेको र थप विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले बताए । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप आइतबार अपराह्न तुलसीपुर उपमहानगरपालिका–३ सिरखोलामा पल्टिएको थियो ।
घाइतेमध्ये केहीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ र भने केहीलाई नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।