इटहरी । इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा सिटी सफारी चलाउन नदिने भएको छ ।
इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा भोलि(आइतबार) देखि सिटी सफारी चलाउन रोक लगाएको हो । इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारी मात्र उपमहानगरपालिका भित्र चलाउन दिने पनि निर्णय भएको छ ।
बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्व बिच सहमति गरेर निर्णय भएको हो ।
अब देखि सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभाबी यात्रु चढाउन तथा ओराल्न रोक लगाइएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।
शुक्रवार इटहरी उपमहानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चौक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालयका डिएसपी मोहन विक्रम दाहालले जानकारी दिए ।
इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको तर इटहरीमा केवल ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको इटहरी उपमहानगरले जनाएको छ ।